Saturday 25 June 2011

के हो अस्टियोपोरोसिस?

         हड्डीमा प्वाल पर्ने तथा हड्डी छिद्र भएर जाने रोगलाई अस्टियोपोरोसिस भनिन्छ। निःसन्तान उपचार केन्द्रकी निर्देशक डाउमा श्रीवास्तवका अनुसार अस्टियोपोरोसिस सूक्ष्म किसिमले हड्डी नाश हुने रोग हो, यो रोगले हड्डीलाई कमजोर बनाउँछ। यो रोगले हड्डी भाँच्चिने सम्भावना बढाउँछ। साधारणतया हड्डी बलियो बनाउन प्रोटिन, कोल्याजिन तथा क्याल्सियमले मुख्य भूमिका खेलेका हुन्छन्।



अस्टियोपोरोसिस हुने कारण

शरीरमा लामो समयसम्म क्याल्सियमको कमी भए जुनसुकै उमेरमा पनि हड्डी कमजोर भएर भाँच्चिने डाश्रीवास्तव बताउँछिन्। महिनाबारी सुकेका वा सुक्ने बेला भएका महिला, परिवारका अन्य सदस्यलाई यो रोग भए, खानामा क्याल्सियमको कमी, औषधिको बढी प्रयोग, क्याफिन खाने तथा कसरतको कमीले अस्टियोपोरोसिसको सम्भावना बढ्छ। पातलो शरीर भएका महिलालाई पनि यो रोग लाग्न सक्छ। मद्यपान तथा धूमपान गर्ने, सन्तुलित आहार नखाने मानिसलाई अस्टियोपोरोसिस रोग लाग्न सक्छ।


डा श्रीवास्तवका अनुसार कतिपय औषधिको सेवनले पनि हड्डी खिइन्छ। धेरैजसो स्नायुसम्बन्धी औषधि खाने मानिसको हड्डी खिइन सक्छ। त्यस्तै पेटका बिरामीको शरीरको रगतले क्याल्सियम तान्न नसक्ने अवस्थामा  पनि हड्डी खिइने सम्भावना हुन्छ।

शरीरमा क्याल्सियमको मात्रा प्याराथाइरोइड र थाइरोइडले नियन्त्रण गर्छ। थाइरोइडमा क्याल्सिटोनिन हार्मोन हुन्छ। यसले शरीरमा बढी भएको क्याल्सियमलाई हड्डीमा लगेर जम्मा गर्छ। त्यस्तै प्याराथाइरोइडले हड्डीमा जम्मा भएको क्याल्सियमलाई फैलाइदिन्छ। प्याराथाइरोइड ट्युमर भए क्याल्सियमको कमीले अस्टियोपोरोसिस हुन्छ।



लक्षण

अस्टियोपोरोसिस रोगका खासै लक्षण केही पनि नहुने डा श्रीवास्तव बताउँछिन्। यसका लागि हड्डी भाँच्चिनु वा प्वाल पर्नुपर्छ। कतै लडेर वा केही भएर हड्डी दुखे अस्टियोपोरोसिस भएको शंका गर्न सकिन्छ।



उमेरअनुसार अस्टियोपोरोसिस अवस्था

बाल्यावस्था


स-साना शिशुको हड्डीको विकास राम्रोसँग भएको हँुदैन। फलस्वरूप कुनै ठाउँबाट लडे जोर्नी भएको भाग छुट्टनिे सम्भावना हुन्छ। त्यसैले यिनीहरूको हड्डीको विकासका लागि खानामा क्याल्सियमको मात्रा पर्याप्त हुनुपर्छ। प्रशस्त मात्रामा दूध ख्वाउनुपर्छ। त्यसपछि शरीरमा आवश्यक मात्रामा क्याल्सियम आपूर्ति हुनसक्छ।



युवावस्था

यो अवस्थामा खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्छ। शरीरको पूर्ण विकास गर्न सन्तुलित खाना खानुपर्छ। दैनिक खानामा एक ग्राम क्याल्सियम आवश्यक छ। काजु, पिस्ता एवं दूधबाट बनेका परिकारबाट क्याल्सियम प्राप्त गर्न सकिन्छ। खासगरी स्तनपान गराउने गर्भवती महिलाले यस्ता खानेकुरा खानु आवश्यक छ। उनीहरूले खाएको खानाले शिशुको पूर्ण विकासमा सघाउ पुग्छ। यी महिलाले आफ्नो खानामा दिनहुँ १ दशमलव ५ ग्राम क्याल्सियम समावेश भएको खाना खानुपर्छ।



वृद्धावस्था

५० वर्ष पुगेका महिला-पुरुष दुवैमा हड्डीको समस्या देखा पर्नसक्छ। ४० वर्ष नाघिसकेका महिलामा रजस्वला थामिन विभिन्न लक्षण देखापर्छ। राति निद्रा नलाग्ने, उकुसमुकुस हुने, खलखली पसिना आउने, योनि सुख्खा भएर चिलाउने, तनावग्रस्त भैरहने जस्ता समस्या देखापर्छन्। उमेरले गर्दा ढाड दुख्छ। महिनावारी सुकेका महिलामा एस्ट्रोजेन्ट हार्मोनको कमी हुन्छ। मेरुदण्डको छेउको हड्डी भाँच्चिन सक्छ।

पुरुषमा खासै लक्षण देखिँदैन। प्राकृतिक तवरबाटै हड्डी नाश हुंँदै जान्छ। उमेर बढ्दै जाने क्रममा पुरुषमा टेस्टोस्टोरोन हार्मोनको कमी हुन्छ। फलस्वरूप खुट्टाको माथिल्लो भाग भाँच्चिने सम्भावना बढ्छ।  



रोकथाम

महिला-पुरुष दुवैले सुरुदेखि नै आपनो स्वास्थ्यप्रति सचेत हुनु आवश्यक छ। हड्डी खिइने समस्या भए चिकित्सककहाँ गएर जाँच गराउनुपर्छ। अस्टियोपोरोसिस जीवनभर लागिरहने रोग भएकाले बचाउमा लाग्नुपर्छ। दूध, दही, पनीर आदि क्याल्सियमयुक्त परिकार दिनहुँ खानुपर्छ। अण्डा, माछा तथा फलफूल एवं सागपातमा पनि पर्याप्त मात्रामा क्याल्सियम पाइन्छ। नियमित रूपमा बिहानको घाममा बस्नुपर्छ। यसबाट भिटामिन डी प्राप्त हुन्छ। यसका लागि क्याल्सियम चक्की पनि खानुपर्ने हुन सक्छ। क्याल्सियम पचेन भने पत्थरी हुने सम्भावना भएकाले प्रशस्त पानी पिउनुपर्छ। ढाड दुख्ने, जोर्नी दुख्ने, शरीरमा फुर्ती नभए, मांसपेशीहरू थकित भए तुरुन्त चिकित्सकसँग सम्पर्क राख्नुुपर्छ।

(कुराकानीमा आधारित)



सिनामङ्गलमा नोबेल हस्पिटल

राजधानीको सिनामङ्गलमा नोबेल हस्पिटल एन्ड रिसर्च सेन्टर स्थापना भएको छ। भव्य संरचना र अत्याधुनिक प्रविधियुक्त यो अस्पतालमा सय शय्या क्षमताको छ। पछिल्लो समयमा विकसित उपचार पद्धति र सोहीअनुरूपको प्रविधि यो अस्पतालमा उपलब्ध हुने संचालकहरूको दाबी छ। हाल अस्पताललाई सुविधा सम्पन्न बनाइनुका साथै रोगीलाई तत्काल  प्रभावकारी उपचार सेवा दिने तयारी भैरहेको छ। अस्पतालले नेपालका कुनै पनि स्थानबाट रोगीलाई काठमाडौं ल्याएर शीघ्र उपचार प्रदान गर्न एम्बुलेन्सका रूपमा हेलिकप्टरसमेत परिचालन गर्ने बताइएको छ। तत्काल उपचारका अभावमा ज्यान गुमाउनुपर्ने अवस्था भएकाहरू यो सेवाबाट लाभान्वित हुने विश्वास गरिएको छ। देशभरका जिल्ला अस्पताल एवं जिल्ला प्रशासन कार्यालयको सहयोगमा यस्तो सेवा संचालन गरिने अस्पताल प्रशासनको भनाइ छ। सुविधा सम्पन्न भवन, सामान्य उपचार शुल्क, दक्ष चिकित्सक एवं पारिवारिक वातावरण यो अस्पतालका विशेषता हुने दाबी गरिन्छ।



फिटनेसका लागि रुटिन

दैनिक खानामा भातको साटो रोटी तथा कम चिल्लो भएको तरकारी खाए पनि शरीर मोटाउँदै छ भने खाना खाने समयको रुटिन बनाउनु पर्छ। स्वीडेनमा गरिएको एक अध्ययनअनुसार दिनहुँ एउटै समयमा खाना खानेहरूको तौल नियन्त्रणमा हुन्छ। यति मात्र होइन उनीहरूमा मधुमेह-२ हुने खतरा पनि कम हुन्छ। अध्ययनमा समावेश गरिएकाहरूले खानेकुरा नबार्दा पनि  उनीहरूको तौल नियन्त्रणमा थियो। जसको खाने-पिउने निश्चित समय हुँदैन र मोटाउने डरले खानेकुरा कम खान्छन् उनीहरूको तौल अझ बढ्छ। फलस्वरूप डायबिटिज हुने खतरा पनि उत्तिकै वृद्धि हुन्छ।



कागती

कागतीको रसमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ। कागतीको रसले इन्फ्लुयन्जा, मलेरिया तथा रुघाखोकीमा फाइदा पुर्‍याउँछ। कागती दाँत, मुटु तथा हड्डीका लागि पनि लाभदायक हुन्छ। मिर्गौलाका रोगीका साथै स्नायुप्रणालीको समस्यामा पनि यसले राहत दिन्छ।



कामकाजी महिलाका लागि दैनिक खाना

दिनहुँ खानामा आवश्यक मात्रामा अन्न समावेश गर्नुपर्छ।

चिल्लो नभएको दूध दिनमा ६ देखि ८ सय मिलिलिटर पिउनुपर्छ।

प्रशस्त मात्रामा हरियो सागसब्जी एवं फलफूल खानुपर्छ

रातो मासु तथा घिउ भरसक खानु हुँदैन।

चिया-कफीको साटो हर्बल चिया, दूध, फलफूलको जुस एवं पानी पिउनुपर्छ।



घाउमा बरफ लगाउनु हानिकारक

कतिपयले घाउको पीडाबाट राहत पाउन बरफ लगाउँछन्। एउटा नयाँ अनुसन्धानअनुसार घाउमा बरफ लगाउँदा उल्टो असर पर्छ। अनुसन्धानकर्ताहरूका अनुसार घाउलाई निको पार्न महत्वपूर्ण मानिने हार्मोन 'आईजीएफ-१' को सक्रियता बरफ लगाउँदा प्रभावित हुन्छ। त्यसैले मांसपेशीको पीडामा बरफ लगाउनु हुँदैन।



अस्पताल नै असुरक्षित

जताततै फोहोरमैला छ जसले गर्दा बिरामीको संख्या बढिरहेको छ। हिजोआज अस्पताल पनि फोहोर हुने भएकाले कीटाणुले मानिसलाई छिट्टै असर पुर्‍याउँछन्। एक अध्ययनअनुसार अस्पताल पुग्ने चारजना बिरामीमध्ये एकजना बिरामी अस्पताल फोहोर भएका कारणले पनि रोगमा असर पुगेर अझ धेरै समय अस्पतालमै बस्न बाध्य हुन्छन्। अस्पतालमा हुने कीटाणुको संक्रमणका कारण कहिलेकाहीँ बिरामीको अङ्ग निस्त्रिय हुन्छ। यसले गर्दा बिरामीको मृत्युसमेत हुनसक्छ भने कतिपय बिरामी अस्पतालमै सुरक्षित स्वास्थ्य सेवाबाट वञ्चित हुन्छन्।



ट्वाइलेट सीटभन्दा हानिकारक लिफ्ट बटन

कतै जाँदा लिफ्ट बटन प्रयोग गरेपछि हात धुनुहुन्छ ? यदि धुनुहुन्न भने विचार पुर्‍याउनुहोस्। ट्वाइलेट सीटको तुलनामा लिफ्ट बटनमा ४० गुना बढी ब्याक्टेरिया हुन्छ। अमेरिकाको एरिजोना विश्वविद्यालयमा गरिएको शोधबाट उक्त कुरा पत्ता लागेको हो। शोधकर्ताहरूका अनुसार लिफ्ट बटन दबाउँदा औंलाको माध्यमबाट ब्याक्टेरिया शरीरमा पुग्छ। त्यसबाट रोग फैलने खतरा बढ्छ। त्यसैले लिफ्ट प्रयोग गरेपछि खानेकुरा खानु वा छुनुअघि राम्रोसँग हात धुनुपर्छ।



हाइ काढ्नु सामान्य होइन

हाइ काढ्नुलाई सामान्य प्रक्रिया मानेर निद्रा वा आलस्यसित जोडिन्छ। वैज्ञानिक रूपले यो प्रक्रियालाई केही अलग ढंगबाट पनि परिभाषित गर्न थालिएको छ। संक्रमणकारी शक्ति नै हाइ आउनुको  सबैभन्दा विलक्षण पक्ष हो। हाइको भावलाई यौनको चरमसुख वा हाछ्यँुसित मिलाएर यसको आन्तरिक सम्बन्धका बारेमा अध्ययन जारी छ। हाइसँगै आङ तन्काउने क्रिया तथा शरीरमा कसिलोपन आउने कुरा पनि वैज्ञानिकहरूका लागि आश्चर्यको विषय भएको छ। वैज्ञानिकहरूले यसको अध्ययन गरेर मस्तिष्क स्ट्रोकका पीडितहरूको उपचार गर्न सकिने आशा गरेका छन्। जसमध्ये युस्टेचियन ट्युब खोल्नु, आँसु निकाल्नु, फोक्सो फुल्नु एवं आलस्यता लोप हुनु प्रमुख हो। चिकित्सा क्षेत्रमा हाइका यी पक्षहरूको विश्लेषण 'ओटिज्म सिजोप|ेनिया' एवं मस्तिष्कलाई क्षति पुर्‍याउने अन्य रोगहरूको कारण बुझ्न भैरहेको छ।



हाइको संक्रमण

हाइले मानिसको व्यवहारमा अचानक आउने परिवर्तनलाई दर्शाउँछ। यो जागृत अवस्थाबाट निद्रातर्फ बढ्नु निद्राबाट जाग्नु कुनै प्रक्रियाको पूर्व संकेत एवं कामुकताको संकेत हो। यो एउटा गतिविधिबाट अर्को गतिविधितर्फ जाने सूक्ष्म प्राकृतिक संकेत हो। मानिसले अन्य मेरुदण्ड भएका प्राणीले जस्तै हाइ काढ्छन्। स्तनधारी जन्तुबाहेक मेरुदण्ड नभएका सबै प्राणीले हाइ काढ्छन्। यिनमा सर्प, माछा, कछुवा, सिंह एवं पक्षीहरू पनि छन्।



हाइको जन्म

हाइको जन्म प्रसवभन्दा पहिले भ्रुण विकासको पहिलो त्रैमासिकको अन्तदेखि नै सुरु हुन्छ। हाइको औसत अवधि छ सेकेन्ड हुन्छ।  यद्यपि यो अवधि साढे तीन सेकेन्डदेखि औसत अवधिको समयभन्दा केही लामो हुनसक्छ। रोचक कुरा के छ भने हाइ कहिल्यै आधा वा अधूरो हुँदैन। हाइजस्ता स्थायी क्रियाको विशिष्ट गति हुन्छ तथा त्यसलाई यत्तिकै पचाउन सकिँदैन। हाइ समूहमा आउँछ र त्यो आउने अवधि सामान्यतः ६८ सेकेन्डको अन्तरालमा हुन्छ। हाइ सासको बाटोमा आवागमन एवं मुख खोल्नेमा मात्र सीमित छैन। यो क्रियामा तन्त्रिका, हृदय क्ष्ाेत्र तथा साससम्बन्धी अन्य प्रणाली पनि प्रभावित हुन्छन्। यो शरीरभित्रका एन्ड्रोजन एवं अक्सी टोसिनबाट प्रारम्भ हुन्छ र सेक्ससम्बन्धी कारक हार्माेन्स तथा गतिविधिसित जोडिएर रहन्छ।

बि्रटिस न्युरोलोजिस्ट सर प|ान्सिस बोल्ससले गरेको प्रयोगअनुसार स्ट्रोकका पीडितलाई जब हाइ आउँछ तब उनीहरूको प्यारालाइज्ड हात त्यत्तिकै उठ्न वा हलचल गर्न थाल्छ। न्युरोलोजिस्टहरू यसलाई आफ्नो भाषामा एसोसिएटेड रिस्पोन्स अर्थात् सहायक प्रतिक्रिया भन्छन्। वैज्ञानिक अनुमानअनुसार प्यारालाइज्ड अङ्गलाई घेरिएको मस्तिष्क एवं मेरुदण्डको प्रणालीका बीचको बेकार हुनबाट बचेको एवं अचेतन ढंगबाट नियन्त्रित हुने सम्पर्कबाट हाइ जागृत हुन्छ। समग्रमा यो प्रक्रिया वैज्ञानिकहरूका लागि अध्ययनको चमत्कारी विषय बन्न पुगेको छ।

डा उमा श्रीवास्तव
निर्देशक, निःसन्तान उपचार केन्द्र



No comments:

Post a Comment