Saturday 25 June 2011

गर्मीका लागि डाइट

डाइटिसियनहरूका अनुसार डिटाँक्स डाइट पित्त, वात र कफलाई ध्यानमा राखेर गरिन्छ । मानिसको शरीरमा सात अवस्था चक्र हुन्छन्, जसका आधारमा हरेक व्यक्तिको डिटाँक्स डाइट तय गरिन्छ । सामान्य रूपमा डिटाँक्स डाइट दुई प्रकारका हुन्छन् । पहिलो प्रकारको डिटाँक्स डाइट, सातामा एकै दिन गरिन्छ । व्रत वस्दा पूरा दिन खाली पेट रहेर व्रत सकिएपछि दूध-दही-केरा जमेर खाइन्छ । डाइटिसियनहरूका अनुसार पूरा दिन खाली पेट बसेेर दूधबाट बनेका पदार्थ खानु राम्रो हुँदैन । केरा र आँप त खानै हुँदैन तर हामीमध्ये धेरैजसोले यस्तै भोजन गर्छौं ।

उपवास अर्थात् मन र तनको शुद्धि । यस्तोमा क्लिनिङ कम हुन्छ र टक्सिन बढ्छ । उपवास अर्थात् एकदिनको डिटाँक्स डाइटमा लो क्यालोरी डाइट लिनुपर्छ । दुग्धजन्य पदार्थ पटक्कै सेवन गर्नु हुँदैन । हाम्रो शरीरको आन्द्रामा म्युक्स/अमिवा हुन्छ । दूध म्युक्स र्फममा हुन्छ अर्थात् दूधको प्रवृत्ति म्युक्सयुक्त हुन्छ जसले शरीरभित्र गएर टक्सिन बन्न सहयोग गर्छ । अतः दूध वा दूधबाट बनेका पदार्थ खाली पेटमा खानु हुँदैन । कतिपय अवस्थामा सोया दूध वा बाख्राको दूध पिउन सकिन्छ । बिहान उठेपछि मनतातो पानीमा
 अमला वा अमला पाउडर सेवन गर्नुपर्छ । रातभरि तामाको भाँडामा राखिएको पानी बिहान सेवन गर्नु लाभदायक हुन्छ । यसले लिभरको फङसलाई सहयोग पुर्‍याउँछ । प|mेस भएपछि कागती-महयुक्त पानी पिउनुपर्छ । यसले पूरा दिन एनर्जी लेवल कायम राख्छ ।

खाली पेट रहँदा कमजोरी महसुस हुनेहरूलाई कागती-मह पानी फाइदाजनक साबित हुनसक्छ । इच्छाअनुसार यसलाई हरेक दुई घन्टामा सेवन गर्न सकिन्छ तर चिनी प्रयोग गर्नु हुँदैन । पूरा दिन रसिला फल सेवन गर्नुपर्छ । फलमा स्याउ, मेवा एवं कालो अंगुर राम्रो हुन्छ । स्याउ सबैभन्दा राम्रो एन्टी टक्सिन मानिन्छ । पेट भरिएको अनुभव गर्न स्याउसित कागती र मह हालेर त्यसको चाट बनाई खानु राम्रो हुन्छ । पि|m लन्च टाइममा कागती-मह पानी पिउनुपर्छ । लन्च ब्रेकमा प|mुट जुस राम्रो हुन्छ । चिया वा कफी भने पिउनु हुँदैन । चिया नपिई सकिँदैन भने हर्बल चिया पिउन सकिन्छ ।

तीन दिनको डिटाँक्स डाइटमा पहिलो दिन फल र फलको जुस सेवन गर्नुपर्छ । तीनै दिन अमला सेवन गर्नुपर्छ । कागती-मह पानी पनि तीनै दिन सेवन गर्नुपर्छ । पूरा दिन कम्तीमा पनि ३ देखि ४ लिटर पानी पिउनुपर्छ । दोस्रो दिनमा काँक्रो, गाजर तथा टमाटरको सलाद खानुपर्छ । नुन-चिनी र मिल्क प्रोडक्ट प्रयोग गर्नुहुँदैन । खाना नखाई रहन नसकिने अवस्थामा खिचडी बनाएर खानुपर्छ । डिनरमा प|mुट र प|mुट जुस सेवन गर्नुपर्छ । तेस्रो दिन, नास्तामा प|mुट वा प|mुट जुस खान सकिन्छ । लन्च टाइममा भेजिटेबल सुप वा भेजिटेबल सलाद खानुपर्छ । डिटाँक्स डाइटपछि विस्तारै क्यालोरीमा आउनुपर्छ । चौथो दिनको नास्तामा दालजन्यपदार्थ सेवन गर्नुपर्छ । दुई घन्टापछि प|mुट्स लिनुपर्छ । लन्चमा रोटी, तरकारी, भात, दही र सलाद खानुपर्छ तर खाना चिल्लो भने हुनु हुँदैन । डिनरमा खिचडी वा हल्का भोजन गर्नुपर्छ ।





गर्मीमा हुने समस्या हटाउने घरेलु उपाय



गर्मी महिनाको सुरुवातसँगै मानिसमा विभिन्न खालका समस्या उत्पन्न हुन थाल्छन् । गर्मीले गर्दा खाना अपच हुने, नाथ्रो फुट्ने, झाडापखाला लाग्ने आदि विविध समस्या देखा पर्छन् ।  यस्ता समस्याबाट बच्न केही घरेलु उपाय अवलम्वन गरे निकै सहयोग पुग्छ ।

अपच

खाना अपच हुनु भनेको आहार ठीक तरिकासँग नपच्नु हो । खाना खाएपछि कहिलेकाहीँ खाना अपच हुनु सामान्य हो । जाडोको तुलनामा गर्मीमा खाना अपच हुने सम्भावना बढी हुन्छ । यसले गर्दा शरीर भारी हुनुका साथै डकार आउँछ र पेट पनि दुख्छ ।

समाधान

अपच

    हर्रो, सुठो र सीधेनुनलाई समान मात्रामा मिसाएर चूर्ण बनाउने । यो चूर्णलाई २ देखि ३ ग्राम चिसो पानीका साथ सेवन गर्दा खाने कुरा सजिलै पच्छ ।

    १ चिया चम्चा जिरा, आधा चिया चम्चा धनियाँ, बिरेनुन, चिनी, मह, अमला, १ चिया चम्चा सुप, ६ वटा कालो अंगुर मिसाएर उमाल्ने र खाने ।

    दिउँसो सुत्ने बानी भएकाहरूले सुत्नुभन्दा पहिले काँचो हिङ, सुठो, मरिच, पिपला र सीधेनुनलाई तातोपानीमा मिसाएर लेप बनाई पेटमा लगाउने ।

    खाना अपच भएपछि चिसो पानी थोरै-थोरै मात्रामा पटक-पटक पिउने ।

    १२५ ग्राम भुटेको हिङ अथवा ३ सय मिली ग्राम बिरेनुन तथा ज्वानो पानी पिउने । वायुविकार र रगतमासी

    १ ग्राम कालो तिलमा ५ ग्राम चिनी हालेर बाख्राको दूधका साथ सेवन गर्ने ।

    १ चम्चा महमा २ देखि ५ ग्राम मूलहठीको चूर्ण मिसाएर दिनमा ३ पटक सेवन गर्ने । यसले रगतमासी ठीक हुन्छ ।

    बाख्राको दूधका साथमा चन्दनको चूर्ण मिसाएर खाने ।

    दुई चम्चा धनियाँ पानीमा उमालेर सेवन गर्ने ।

    आधा चिया चम्चा अदुवाको रस, १ चिया चम्चा जिरा पाउडर, आधा चिया चम्चा मेवाको बीउ, १ चिया चम्चा मह मिसाएर दिनमा दुई पटक सेवन गर्ने ।

    आधा गिलास ताजा अनारको रस दिनमा तीन पटक पिउने ।

    ३ टेबल स्पुन ताजा दही, आधा चिया चम्चा जिरा पाउडर, थोरै मात्रामा नुन, थोरै मात्रामा महलाई राम्रोसँग मिसाएर दिनमा तीन पटक सेवन गर्ने ।

    खिचडी खाँदा चामल र मुगको दालको मात्रा खाने ।

नाथ्रो फुटे

    २ सय २५ ग्राम दूबोको रस, ५० ग्राम तिलको तेल, २५ ग्राम फिटकिरी चूर्ण मिसाएर दिनमा ३-४ पटक नस लिँदा पुरानो नाक फुट्ने रोग पनि ठीक हुन्छ ।

    ज्यामिरको जरा अथवा त्यसको फूल पिसेर चामलको पानीका साथ पिउँदा  नाथ्रो फुट्ने समस्या कम हुन्छ । रगत आएका बेला उक्त रस नाकमा राख्यो भने पनि रगत आउन बन्द हुन्छ ।

    १० ग्राम शंखपुष्पी, १५ ग्राम मरिच तथा ७ वटा अलैंची मिसाएर पिस्ने र एक कप पानीको घोल बनाउने र हरेक दिन पिउने ।

हैजा

    नरिवलको जटाको खरानीमा मह मिसाएर ख्वाउने ।

    कपूरलाई पुदिना अथवा प्याजको रससँग मिसाएर खाने ।

पटक-पटक प्यास लागे

    धनियाँलाई पानीमा भिजाउने । २ घन्टापछि त्यसलाई मुछेर छान्ने । त्यसपछि उक्त पानीमा मह अथवा चिनी मिसाएर पिउने ।

    कडा परबल र जौको काँडामा चिनी मिसाएर पिउने ।

    भुटेको जौको पिठोमा पानी र घिउ हालेर सेवन गर्ने ।

 लागे

    इमिलीको गेडालाई पिसेर त्यसलाई पानीमा घोल्ने र कपडाको सहायताले छान्ने । त्यसपछि चिनी मिसाएर पिउने ।

    मेथीको सुकेको पातलाई केही समय पानीमा भिजाएर राख्ने । त्यसपछि हातले मुछेर छान्ने । यो पानीमा थोरै मह मिसाएर २-२ घन्टाको फरकमा रोगीलाई खान दिने ।

आँखा पोल्ने समस्या

    बेसार, फिटकिरी र इम्ािलीको पातलाई बराबर मात्रामा मिसाएर पिस्ने । त्यसपछि त्यसलाई सफा कपडामा बेरेर आँखा सेक्ने ।

    सफा कपासलाई दूधमा भिजाएर आँखामा राख्ने । यो उपाय दिनमा ३-४ पटक अवलम्वन गर्नुपर्छ ।

    १० ग्राम दाक्षलाई राति पानीमा भिजाउने । बिहान त्यसलाई हातले मुछेर चिनीमा मिसाएर खाने ।

उल्टी

    एउटा कागतीको रस र एक चम्चा चिनीलाई दुई चम्चा पानीमा मिसाएर एक-एक घन्टाको अन्तरालमा खाने । 

    १० मिलिलिटर अदुवाको रसमा १० मिलिलिटर प्याजको रस मिसाएर सेवन गर्ने । 

    ६ ग्राम पुदिना र २ ग्राम बिरेनुन मिसाएर पिस्ने । यो मिश्रणलाई चिसो पानीमा घोलेर पिउनुपर्छ ।

    ज्वानो र ल्वाङ पिसेर पानीका साथ चाट्ने ।

गाँठागुँठी

    करेलाको जरा पिसेर गाँठागुँठीमा लेप लगाउने ।

    पीपलको पातमा घिउ लगाएर बाँध्ने ।

    हरेक बिहान चिसो पानीमा मह मिसाएर गाँठागुँठी र शरीरको गर्मी नहराउन्जेलसम्म पिउने ।

गर्मीमा उपयोगी अचार

    सय-सय ग्राम सुठो, धनियाँ, कचरी, बिरेनुन, ५०-५० ग्राम भुटेको जिरा, टिम्मुर, १०-१० ग्राम भुटेको हिङ र अलैंची ।

    सबै सामग्रीलाई पिसेर मिश्रण बनाउने । त्यसलाई कराहीमा थोरै घिउका साथ सानो आगोमा हल्का भुट्ने र बोतलमा राख्ने ।

    यो चूर्णलाई ५ ग्राम दैनिक रूपमा तातोपानीका साथ सेवन गर्ने । यसले अपच हुँदैन । यो चूर्णमा थोरै मात्रामा पानी मिसाएर पिस्दा स्वादिष्ट चटनी तयार हुन्छ ।

गर्भावस्थामा डाइटिङ हानिकारकहिजोआज महिलामा धेरै डाइटिङ गर्ने प्रवृत्ति छ फलस्वरूप गर्भवती महिलाले पनि डाइटिङ गरेको पाइन्छ । यसले गर्दा शिशुको आइक्यु क्षमतामा कमी आउन सक्छ । यस्तो अवस्थामा महिलाले खानपान कम गर्ने डाइटिङ गरे हानिकारक हुने अध्ययनले देखाएको छ ।

विशेषज्ञहरूका अनुसार गर्भवती महिलाले डाइटिङ गर्दा शरीरमा पर्याप्त मात्रामा पौष्टिक तत्व पुग्न पाउँदैन । यसले गर्दा गर्भमा रहेको शिशुको मस्तिष्क प्रभावित हुनसक्छ । जसका कारण शिशुको अाइक्यु क्षमता कम हुनुका साथै अन्य व्यवहारसम्बन्धी समस्या पनि उत्पन्न हुनसक्छ । अध्ययनअनुसार आवश्यक पौष्टिक तत्व तथा क्यालोरीको कमीका कारण गर्भमा रहेको शिशुलाई असर पर्न सक्छ । त्यसैले गर्भधारणको समयमा डाइटिङ नगर्नु आमा र शिशु दुवैका लागि हितकर मानिन्छ ।  

बिरामीप्रतिको कर्तव्य



हामी दुःखको अवस्थामा आफ्नो मान्छे भेट्न आउँदा धेरै खुसी हुन्छौं । यसकारण अस्पतालमा दक्ष डाक्टर, राम्रा स्टाफ र भरपर्दो औषधि भएर पनि हामी आफूसँग मन मिल्ने मानिसहरूको हालखबर सोध्छौं । आफू बिरामी भएको समयमा कोही भेट्न आए खुसी हुन्छौं । यद्यपि अस्पतालमा कुनै आफन्तलाई भेट्न जानुपर्‍यो भने आवश्यक शिष्टाचार निभाउनु आवश्यक छ ।

    प्रत्येक अस्पताल वा क्लिनिकमा बिरामीसँग भेट गर्ने समय तोकिएको हुन्छ । त्यसैले भेट गर्न जानुभन्दा पहिले भेट गर्ने समयका बारेमा जानकारी प्राप्त गर्नुपर्छ । कुसमयमा पुगेर त्यहाँका कर्मचारीलाई धम्क्याउनु, रवाफ देखाउनु गलत हो ।

    घरायसी सामान किनेपछि ती सामानका साथ बिरामीकहाँ जानुहुदैन । यसबाट पशुपतिको जात्रा सिद्राको व्यापार जस्तो हुन्छ ।

    अस्पताल जाँदा प्रशस्त समय मिलाएर जानुपर्छ । अस्पताल पुग्नासाथ बिरामीको हालखबर सोध्नुपर्छ र जब बिरामी अथवा उनका नातेदारले बिरामीका सम्बन्धमा जानकारी दिन थाल्छन्, पटक-पटक घडी हेर्ने काम गर्नुहुदैन ।

    यदि समय मिलाएर बिरामीको हालखबर थाहा पाउन अस्पताल गइएको छ र बिरामी एक्लै छ भने त्यहाँ बस्नु ठीक हुन्छ । तर आफू पुगीसकेपछि अन्य परिचित मानिस पनि त्यहाँ पुगे भने त्यहाँ लामो समयसम्म बस्नु ठीक हुँदैन । किनभने अस्पतालमा भीड बढाउनु उचित होइन ।

    चम्किला सारी एवं मेकअपले पोतिएको अनुहार, टाढासम्म वासना आउने सेन्ट, कोठा थर्काउने हाँसो आदि त्यस्ता चीज हुन् जुन अस्पतालको वातावरणमा भद्दा लाग्छन् ।

    बिरामीसमक्ष पुगेर 'कुनै समस्या परे मलाई भन्नू' भनेर सान्त्वना दिनु औपचारिकता मात्र हो । बिरामीको परिवारका कुनै सदस्यलाई अस्पताल लाने, बिरामी तथा उनको नातेदारको कुनै निवेदन कार्यालयसम्म पुर्‍याइदिने, बजारबाट तरकारी, औषधि ल्याइदिने, स-साना बालबालिकाहरूको हेरचाह गर्ने आदि जस्ता कुनै पनि काम गर्न सकिन्छ र यसो गर्नु राम्रो पनि हुन्छ ।

    बिरामीलाई चिन्ता होइन, आराम दिनुपर्छ ।

    बिरामीले डाक्टरद्वारा सिफारिस गरिएको औषधी खाँदै छन् भने उनका अगाडि विभिन्न प्रकारका परिकारको कुरा  गर्नुहुदैन ।

    सम्भव भएसम्म अस्पतालका कर्मचारीहरू द्वारा दिइएका निर्देशन पालना गर्नुपर्छ । यस्ता निर्देशनहरू बिरामीलाई आराम, शान्ति र सुरक्षात्मक अवस्था वृद्धि गर्न नै दिइएको हुन्छ ।

    बिरामीसँग बसेर सम्बन्धित रोगका बारेमा कुरा गर्दै रुने काम कहिल्यै गर्नुहुदैन । सकारात्मक, उत्साहप्रद एवं आशावादी कुरा गर्नुपर्छ।

    बिरामी निराश छ, रोगसँग संघर्ष गर्दा गर्दा ऊ मानसिक रूपमा थाकेको छ भने सकारात्मक विचारद्वारा उसको मनोबल बढाउने प्रयास गर्नुपर्छ ।

    यदि बिरामीले पूर्ण स्वास्थ्य लाभका लागि केही दिन 'बेड रेस्ट' गनुपर्ने कुरा बताइएको छ भने पत्रपत्रिका, पुस्तक आदि उपलब्ध गराएर बिरामीलाई सहयोग गर्न सकिन्छ । यसले गर्दा उसको समय राम्रोसँग बित्न सक्छ ।

    यदि बिरामी आफ्नो टोल अथवा घर नजिकैको हो र उसले लामो समयसम्म अस्पतालमा नै बस्नुपर्नेछ भने टोलका मानिसहरूले पालो गरेर ऊसँग बस्ने समय मिलाउन सकिन्छ । जसले गर्दा सबैले आफ्नो काम छाडेर अस्पताल जानुपर्दैन ।

    बिरामीको अगाडि बसेर ठूलो स्वरमा कुरा गर्ने वा चिच्याउने काम गर्नुहुदैन ।

    कुरौटे महिला वा पुरुषहरू बिरामीको अगाडि बसेर 'अँ, तपाईंलाई जुन रोग लागेको छ, त्यही रोग मेरो मामाको छोरालाई पनि लागेको थियो । धेरै धनी भएको हुनाले प्रशस्त खर्च गरेर उपचार गरे तर पनि बचाउन सकेनन्', भन्नेजस्ता नाना थरीका कुरा पनि गर्छन् । अञ्जानमा निस्कने यस किसिमका कुराले बिरामीको मनोबल घट्छ । त्यसकारण आफ्नो बोलीमा नियन्त्रण राख्नुपर्छ ।

    अस्पताल परिसरमा कतै पनि चुरोट, सुर्ती, पान तथा अल्कोहलको प्रयोग गर्नुहुदैन । अस्पताल त्यस्तो ठाउँ हो, जहाँ पर्याप्त सफाइ आवश्यक हुन्छ ।

    यदि कुनै डाक्टरका बारेमा अथवा अस्पतालका बारेमा नराम्रो कुरा सुनिएको छ र आफ्नो अनुभवमा पनि उक्त डाक्टर र अस्पताल ठीक छैनन् तथा कुनै बिरामीले त्यही नै उपचार गराइरहेको छ भने पनि बिरामीका अगाडि यस्ता कुरा कहिल्यै गर्नुहुदैन । यसो गर्दा बिरामीमा डाक्टरप्रति अविश्वास उत्पन्न हुन्छ र उसलाई मानसिक रूपमा असर पर्छ । यस्ता कुरा बताउनुपर्छ ।

    स-साना बालबालिकालाई लिएर अस्पताल जानुहुदैन । उनीहरूले हल्ला गर्ने हुँदा बिरामीहरू चिढिन्छन् । त्यति मात्र होइन, रोग प्रतिरोधात्मक क्षमता कम भएका शिशुमा संक्रमणको खतरा पनि हुन्छ ।

    यदि बिरामीको कुनै कामको जिम्मेवारी आफूलाई दिइएको छ भने त्यसलाई अवश्य पूरा गर्नुपर्छ । बिर्सिएको अथवा समयको कमी भएको जस्तो कुनै पनि बहाना बनाउनु हुदैन । तपाईंको यही लापरबाहीका कारण बिरामीको ज्यान पनि जान सक्छ ।



 
एिकराज सुवेदी

No comments:

Post a Comment