Sunday 5 June 2011

मोबाइल फोनको उपयोगले क्यान्सरको जोखिम ।

तपाईं जुन बेला पनि मोबाइल फोनलाई कानमै टाँसिराख्नुहुन्छ ? दिनहुँ घन्टौं मोबाइल फोनमा झुन्डिराख्नु हुन्छ ? यदि हो भने सावधान । मोबाइल फोनको अत्यधिक उपयोगले मस्तिष्क क्यान्सरको जोखिम बढ्न सक्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का क्यान्सर विशेषज्ञले मोबाइलको प्रयोग कम गर्नेबारे गम्भीर हुन सुझाव दिएका छन् । डब्लुएचओ र इन्टरनेसनल एजेन्सी फर क्यान्सर रिसर्चले गत मंगलबार जारी गरेको विज्ञप्तिअनुसार मोबाइल फोनको अत्यधिक उपयोगले 'ग्लिओमा' नामक मस्तिष्क क्यान्सर हुने खतरा अत्यधिक
बढ्छ । यसअघि गत मे २४ देखि ३१ सम्म १४ देशका ३१ वैज्ञानिकहरूको बैठक डब्लुएचओको अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (आईआरसी) मा बसेको थियो ।
डब्लुएचओले रेडियो फ्रिक्वेन्सी इलेक्ट्रोम्याग्नेटिक फिल्ड (रेडियो आवृत्ति विद्युत् चुम्बकीय क्षेत्र) लाई मानिसका लागि क्यान्सर उत्पन्न गर्ने (२ बी समूह) मा राखेको छ । यसले ग्लिओमाको जोखिम बढाउँछ । ग्लिओमा एक प्रकारको मस्तिष्कको क्यान्सर हो जो ताररहित फोन उपयोग गर्ने व्यक्तिसँग सम्बन्धित हुन्छ । वैज्ञानिकहरूले मोबाइल फोनलाई समेत सिसा, क्लोरोर्फमजस्ता वस्तुको श्रेणीमा राखेका छन् । सिसा र क्लोरोर्फमले पनि क्यान्सरको खतरा बढाउँछन् । यसबारे निश्चित रूपले केही भन्नुअघि अझ अनुसन्धानको खाँचो रहेको डब्लुएचओले औंल्याएको छ । यसअघि डव्लुएचओले क्यान्सर र मोबाइल फोनबीच सम्बन्ध रहेको कुरामा कुनै सबुत नरहेको दाबी गरेको थियो ।

आईएआरसी समूहका अध्यक्ष जोनाथन सैमेटलाई उद्धृत गर्दै डब्लुएचओको विज्ञप्तिमा भनिएको छ, 'रेडियो फ्रिक्वेन्सी इलेक्ट्रोम्याग्नेटिक क्षेत्रबाट मानिसमा क्यान्सरको खतरा बढ्छ ।'
जोनाथनका अनुसार केही प्रमाणले मोबाइल फोनको उपयोगबाट एक प्रकारको मस्तिष्कको क्यान्सर ग्लिओमालाई बढावा मिल्छ ।
स्वास्थ्य सम्बद्ध खतरा भए पनि मोबाइल फोनको उपयोग कम हुन सक्दैन । त्यसैले विशेषज्ञहरूले मोबाइल उपयोग गर्दा हेडसेटजस्तो उपकरणबाट कुरा गर्न जोड दिएका छन्, खतरा कम गर्न सकियोस् भनेर ।
'मोबाइल फोनबाट निस्किने विकिरण उपयोगकर्ताको मस्तिष्कमा तीव्र गतिले सोसिन्छ,' स्नायु शल्यचिकित्सक डा. वसन्त पन्त भन्छन्, 'नयाँ अध्ययनले यसको असर डिडिटी जस्तो हानिकारक विषादी, लेड र पेट्रोलियम उत्पादनको हानिकारक अंश जस्तै हुने देखाएको छ ।' यद्यपि मोबाइलबाट निस्किने रेडियो फ्रिक्वेन्सी इलेक्ट्रोम्याग्नेटिक फिल्ड मस्तिष्कमा सोसिने तथ्य पहिले नै प्रकाशमा आएको छ ।
डब्लुएचओका अनुसार जो व्यक्ति दिनहुँ डेढ घन्टादेखि दुई घन्टासम्म निरन्तर १० वर्षसम्म कुरा गर्छन्, उनीहरूमध्ये करिब ४० प्रतिशतलाई मस्तिष्क वा स्पाइनमा ट्युमरको समस्या देखिन्छ ।
'आवश्यकता नभए बढ्ने उमेरको बालबालिकालाई मोबाइल फोनबाट टाढै राख्नु राम्रो हुन्छ,' बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, रेडियो थेरापी विभागका प्रमुख डा. अञ्जनी झा भन्छन्, 'बचाउका लागि बालबालिकालाई मोबाइल फोनको अधिकतम उपयोग गर्नबाट रोक्नु नै राम्रो ।'
डा. पन्त समेत १४ वर्षमुनिका बालबालिकालाई मोबाइल फोन उपयोग गर्न निरुत्साहित गर्नुपर्ने बताउँछन् । बालबालिकाको टाउकोको हाड नरम हुनुको साथै मस्तिष्क बढी विकसित नभएकाले उनीहरूमा विकिरणको असर बढी पर्छ । विभिन्न अध्ययनले मोबाइल फोनको अत्यधिक उपयोग गर्नेहरूको मस्तिष्कको दाहिने भागमा ट्युमर पाइएको समेत आंैल्याएका छन् ।
मोबाइलको जोखिमरहित   उपयोग
धेरैजसो व्यक्ति दिनहुँ ३० मिनेट मोबाइलमा कुराकानी गर्छन् । यस प्रकार मोबाइल फोनमा कुरा गर्नेहरूले एक वर्षमा ११ हजार मिनेटको रेडिएसन एक्सपोजरको सामना
गर्नुपर्छ । मोबाइल फोनबाट विकिरणको खतरा बढी रहेकाले यसलाई कम गर्न केही उपाय अपनाउन सकिन्छ । यसले विकिरणको दुष्प्रभावमा कमी ल्याउन सक्छ ।
मोबाइल फोनमा लामो कुरा गर्नु हुन्न । सम्भव भएसम्म छोटो समयमै गफ टुंग्याउनुपर्छ । डा. झा भन्छन्, 'अलि लामो कुरा गर्नुपरे कानमा मोबाइल टाँसेर कुरा गर्नुभन्दा ह्यान्ड प|mी वा ह्यान्ड प|mी किटको उपयोग गर्नुपर्छ । यसो गर्दा मस्तिष्कमा पर्ने अतिरिक्त विकिरणबाट बच्न सकिन्छ ।' स्पिकर उपयोग गर्दा रेडिएसनको खतरा २० देखि ६० प्रतिशतसम्म कम हुन्छ । एयर ट्युब हेड सेटको उपयोग गर्नाले ध्वनिमा मात्र प्रभाव पर्छ, इलेक्ट्रोनिक तरंगमा होइन । कुराकानी गर्नुको सट्टा एसएमएसलाई महत्त्व दिने गरेर पनि जोखिम घटाउन सकिन्छ । तपाईं लेनलाइन फोन भएको ठाउँमा हुनुहुन्छ भने मोबाइलको सट्टा त्यही फोनमा कुरा गर्नुस् ।
मोबाइल राख्ने तरिका
राति सुत्दा मोबाइल फोनलाई सिरानीको तल राख्नु हुन्न । डा. पन्तका अनुसार त्यस्तो बेला मोबाइल फोन आफूभन्दा टाढा मेचमा राख्नुपर्छ । यस्तै, मोबाइल खल्तीमा बोक्नुको सट्टा ह्यान्ड ब्याग वा अरू ब्यागमा राख्नु बढी राम्रो मानिन्छ । अफिसमा बस्दा लामो समयसम्म मोबाइललाई पाइन्ट वा सर्टको खल्तीमा नराख्नुस्, डेस्क वा मेचमा राख्नुस् । मोबाइल पाइन्टको खल्तीमा राख्नाले शुक्रकीटको संख्या कम हुन्छ भनिने गरे पनि यो कुरो हालसम्म प्रमाणित भएको छैन । तथापि मोबाइल खल्तीमा नराख्नु नै राम्रो हुने विज्ञहरूले सुझाउँदै आएका छन् । गाडी चलाउँदा मोबाइलको उपयोग गर्नाले रेडिएसनको खतरा बढी हुन्छ।

No comments:

Post a Comment